नेपाली कांग्रेस छेडागाड नगरपालिका सभापतिमा बमबहादुर खत्रीको उम्मेदवारी घोषणा

जाजरकोट — नेपाली कांग्रेस छेडागाड नगरपालिकाको पुष १७ गते हुने नगर अधिवेशनलाई लक्षित गर्दै सभापति पदका लागि बमबहादुर खत्रीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। लामो समयदेखि पार्टी संगठन र स्थानीय राजनीतिमा सक्रिय रहँदै आउनुभएका खत्रीले छेडागाड नगरपालिकामा नेपाली कांग्रेसलाई अझ बलियो, व्यवस्थित र जनआधारित पार्टीका रूपमा स्थापित गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सार्नुभएको हो।

उम्मेदवारी घोषणा गर्दै खत्रीले पार्टीभित्र देखिँदै आएका असमझदारी र गुटगत प्रवृत्तिलाई अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवाको सक्रिय सहभागिता तथा जनताको विश्वास पुनःस्थापना नै आफ्नो नेतृत्वको आधार हुने उल्लेख गर्नुभयो।

खत्रीको राजनीतिक यात्रा नेपाली कांग्रेसको संगठन निर्माणसँग नजिकबाट जोडिएको छ। उहाँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश प्रतिनिधि रहनुभएको थियो भने सोही अवधिमा क्षेत्रीय कार्यसमिति सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो। पार्टीका नीति, विधान र संगठनात्मक संरचनाबारे राम्रो अनुभव हासिल गरिसक्नुभएका खत्री स्थानीय तहमा अनुभवी र भरोसायोग्य नेताका रूपमा चिनिनुहुन्छ।

यसअघि उहाँ छेडागाड नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदका प्रत्यासी रहनुभएको थियो। उक्त चुनावी प्रक्रियाबाट उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनुभएको थियो भने स्थानीय आवश्यकता, समस्या र सम्भावनाबारे गहिरो बुझाइ विकास गर्नुभएको छ। यही अनुभवलाई नगर सभापतिको भूमिकामा उपयोग गर्दै पार्टीलाई जनतासँग अझ नजिक लैजाने खत्रीको योजना रहेको छ।

खत्रीले “नेपाली कांग्रेस इतिहास, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा आधारित पार्टी हो। त्यसको गरिमा जोगाउँदै छेडागाड नगरपालिकामा संगठनलाई तल्लो तहसम्म बलियो बनाउनु मेरो मुख्य लक्ष्य हो,” भन्दै सबै कांग्रेसजनको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले युवालाई नेतृत्वमा ल्याउने, पुराना कार्यकर्ताको योगदानको कदर गर्ने र नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने नीति अघि सार्नुभएको छ।

पुष १७ गते हुने नगर अधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेस छेडागाड नगरपालिकामा नेतृत्व चयनका लागि राजनीतिक सरगर्मी बढ्दै गएको छ। खत्रीको उम्मेदवारी घोषणासँगै नगर अधिवेशन थप चासो र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ।


ADVERTISEMENT


This will close in 12 seconds