सन् १९४६ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति बुसको जन्म

काठमाडौँ — सन् १९४६ मा आजकै दिन (जुलाई ६) मा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको जन्म भएको थियो । उनी अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । बुसले २००१ जनवरी २० देखि २००९ जनवरी २० सम्म दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए ।

उनी अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच डब्लू बुसका छोरा हुन् । जर्ज डब्लू बुसले १९७५ मा हार्वर्ड बिजनेस स्कुलबाट स्नातक गरेका थिए । त्यसअघि केही समय उनले टेक्सास एअर नेसनल गार्डका युद्धक विमान उडाउँथे ।

उनी १९९४ मा टेक्सास राज्यको गभर्नर भएका थिए । आफ्नो कार्यकालमा उनले शैक्षिक तथा कानुनी क्षेत्रमा सुधारका कार्यक्रमहरू ल्याएका थिए । २००० मा भएको राष्ट्रपतीय चुनावमा जर्ज डब्लू बुसले डेमोक्रेटिक दलका अल गोरलाई पराजित गरेका थिए ।

आफ्नो राष्ट्रपतीय कार्यकालमा जर्ज डब्लू बुसले कर कटौती, शैक्षिक क्षेत्र सुधार, एचआईभी एड्सविरुद्धको आपत्कालीन योजना, स्वतन्त्र व्यापार सम्झौतालगायतका कार्यक्रम ल्याएका थिए । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आतंककारी आक्रमणपछि उनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थिए । २००४ मा जोन केरीलाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।


ADVERTISEMENT


This will close in 12 seconds